Home समाचार नियमित उडान नपाउँदासम्म काठमाडौं-मलेसिया चार्टर्ड गर्दै नेपाल एयरलाइन्स

नियमित उडान नपाउँदासम्म काठमाडौं-मलेसिया चार्टर्ड गर्दै नेपाल एयरलाइन्स

by reporter

नेपाल वायुसेवा निगमले आज (मंगलबार)देखि मलेसियाका लागि चार्टर्ड उडान सुरू गरेको छ।

निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा ढिलाई गरेसँगै मलेसियाको नियामक निकायले नियमित उडानको अनुमति रोकेको छ।

यही कारण निगमले तत्कालको लागि चार्टर्ड उडान थालेको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नेपाल एयरलाइन्सको नियमित उडान रोकिएपछि प्राधिकरणले चार्टर्डका लागि अनुमति दिएको बताए।

‘नियमित उडान गर्न नपाएपछि निगमले चार्टर्डका लागि अनुमति मागेको थियो। यात्रुको सहजताका लागि प्राधिकरणले अनुमति दिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘आजबाटै चार्टर्ड उडान गर्दैछ।’

नियमित उडान रोकिने भएपछि निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौं–मलेसिया चार्टर्ड उडानका लागि अनुमति मागेको थियो।

नियमित उडान भइरहेको यो गन्तव्यमा चार्टर्ड उडान मागेपछि निगमलाई प्राधिकरणले थप स्पष्टीकरण सोधेको थियो।

नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन्।

त्यस्तै, निगमले प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालिन उडान तालिकाअनुसार काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको पाँच उडान गर्नेछ।

काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौं रुटमा साताको २ उडान स्वीकृत भएको छ। सूचना अधिकारी भुलका अनुसार अब नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्नेछ।

यो गन्तव्यका लागि नेपाल एयरलाइन्सले मंगलबार र शनिबार गरी सातामा दुई उडान गर्ने उनले बताए।

त्यसो त यसअघि पनि नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि अनुमति मागेको थियो। सातामा दुई उडानका लागि गत ‘विन्टर सेड्युल’ मै स्वीकृत भएको थियो।

एयरलाइन्सले भने विविध कारण देखाउँदै स्वीकृत तालिकाअनुसार उडान गर्न सकेको थिएन। गृष्मकालिन उडानका लागि भने निगमले तयारी गरिरहेको छ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडानका लागि निगमले तयारी गरिरहेको छ,’ एयरलाइन्सका सह प्रवक्ता गणेश कुमार घिमिरेले सेतोपाटीसँग भने, ‘सम्भवतः छिट्टै नै यो गन्तव्यलाई नेपाल एयरलाइन्सले जोड्नेछ।’

प्राधिकरणकाअनुसार हिमालय एयरलाइन्सले पनि काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको १४ उडानको स्वीकृति पाएको छ।

Related Articles

Leave a Comment