Home Uncategorized माओवादी एम्बुसमा बचेका आईजी

माओवादी एम्बुसमा बचेका आईजी

by reporter

द्वन्द्वकालमा जिम्मेवारी निर्वाहका क्रममा माओवादी लडाकूले थापेको एम्बुसबाट बचेका कुँवर नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार भएकै बेला नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका छन् ।

काठमाडौं । २०५६ सालमा माओवादी द्वन्द्व उत्कर्षतिर जाँदै थियो । वसन्तबहादुर कुँवर इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख थिए ।

तत्कालीन विद्रोही माओवादीको प्रभाव क्षेत्र दाङ त्यसबेला सुरक्षा निकायको विशेष निगरानीमा थियो । दैनिक पेट्रोलिङ र गस्ती चलिरहेको हुन्थ्यो । नियमित गस्तीमा गइरहेका बेला एकदिन कुँवरको हतियारसहितका लडाकुसँग जम्काभेट भयो । थोरै मानिस थिए, गोली चलाउनुभन्दा पहिले समात्नुलाई उनले प्राथमिकता दिंदै लखेट्न थाले ।

यसबारे जानकार एक प्रहरी अधिकृतका अनुसार त्यसदिन माओवादीले धनौरी माविमा आमसभा राखेको थियो । कुँवरको टोलीले हतियारसहितका लडाकूलाई लखेट्दै जाँदा माओवादीले जवाफमा ग्रिनेड हान्न थाले ।

केही अगाडि माओवादीको एम्बुस रहेछ । कुँवर केही सेकेण्डले मात्रै बाँचे, उनका सुरक्षागार्ड मनोज हमाल गम्भीर घाइते भए । हमाललाई तत्काल उद्धार गरेर तुल्सीपुर अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज हुँदै कुश्मा पुर्‍याइयो । यद्यपि, उपचारका क्रममा कुँवरका सुरक्षागार्ड हमालको मृत्यु भयो ।

द्वन्द्वकालमा जिम्मेवारी निर्वाहका क्रममा माओवादी लडाकूले थापेको एम्बुसबाट मुश्किलले बचेका उनै कुँवर नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार भएकै बेला नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ ।

द्वन्द्वका बेला कुँवर जिम्मेवारी निर्वाहका क्रममा माओवादीसँग पटकपटक आमनेसामने भएका थिए । त्यसको २३ वर्षपछिको संयोग माओवादी सरकारमै भएका बेला उनी नेपाल प्रहरी महानिरीक्षक बनेका छन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे उनले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन् ।

‘प्रहरीले सरकारले अह्राए खटाएका काममा कुनै नाइनास्ती नगरी कर्तव्य निर्वाह गर्ने हो’, नेपाल प्रहरीका एक उच्च अधिकृत भन्छन्, ‘बाँकी सबै समयको कुरा न हो ।’ नेपाल प्रहरीभित्र कुँवर हक्की स्वभावका व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

प्रधानमन्त्री प्रचण्डसँग नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवर (बायाँ) र प्रहरी महानिरीक्षकबाट बिदा भएका धिरजप्रताप सिंह (दायाँ)।
प्रहरी निरीक्षकका रुपमा २०५० सालमा सेवा प्रवेश गर्दा कुँवर शीर्ष वरियतामा थिए । तर, डीएसपी बढुवामा छैटौं, प्रहरी उपरीक्षक (एसपी) मा पाँचौं र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा १३औं नम्बरमा पुगेका थिए । त्यसबेलासम्म उनले महानिरीक्षकको दौडमा आफू अगाडि आउनेमा सायदै सोचेका थिए ।

तर, जब ९ असारमा कुँवर प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भए त्यतिबेला उनी आफैंले सरप्राइज पाए । इन्स्पक्टेर नियुक्त हुँदाको पहिलो वरियता उनले डीआईजीमा आएर फेरि कायम गरे । उनी स्वयंले त्यसबेला बढुवामा पहिलो नम्बरमा आउने कल्पना गरेका थिएनन् ।

बढुवा भइसक्दा पनि ‘बधाई’ लिन उनी धक मानिरहेका थिए । किनकि, आफ्नो ब्याचका अशोक सिंहलाई वरियताको तेस्रो नम्बरमा ल्याएपछि उनी सशंकित थिए । किनकि, कुँवरहरुको बुझाइ सिंहलाई भावी महानिरीक्षक बनाउने गरी महानिरीक्षकको प्रतिस्पर्धामा ल्याइएको भन्ने थियो ।

हुन पनि कुँवरहरु एसएसपीमा बढुवा हुँदा सिंह सूचीमै अटाएका थिएनन् । एक्कासी तेस्रो वरियतामा आएपछि उनका ब्याचीहरु सशंकित हुनु स्वाभाविक थियो । त्यहीबीच सिंहले जन्ममिति ढाँटेर प्रहरीमा वहाल रहिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि परिस्थितिले कोल्टे फेर्‍यो । यसमा वर्तमान महानिरीक्षक धिरजप्रताप सिंहको पनि साथ रह्यो ।

सिंहले राजीनामा नदिए पद समेत घटुवा हुनसक्ने चेतावनी दिएपछि भावी प्रहरी महानिरीक्षकका लागि बलियो दाबेदार मानिएका अशोक सिंंहले १० फागुनमा राजीनामा दिएपछि कुँवरको भाग्य चम्कियो ।

अझ सत्तारुढ माओवादी केन्द्रको नेकपा एमालेसँग गठबन्धन टुट्नु र नेपाली कांग्रेससँग जोडिनु पनि कुँवरका लागि फाइदाजक भयो । कुँवरका दाइ बाबुराम कुँवर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । उनलाई पछि देउवाले नै गण्डकी प्रदेशको प्रमुख समेत बनाएका थिए । हाल कांग्रेस–माओवादी गठबन्धन बन्दा त्यसको स्वभाविक लाभ बाबुरामका भाइ वसन्तले पनि पाए ।

गृह मन्त्रालयले २६ फागुनमा ५ जनालाई एआईजी बढुवाका लागि सिफारिस गर्दा पनि वसन्त कुँवरले पहिलो वरियता कायम गरे ।

बलियो दाबेदार मानिएका सिंह बाहिरिएपछि उनका लागि पहिलो स्थान कायम गर्न सहज भएको थियो । त्यसो त यो बीचमा उनका प्रतिस्पर्धी श्यामलाल ज्ञवालीलाई अगाडि ल्याउने प्रयास नभएको होइन । तर, सरकारले अन्तिममा वरियता कायम गर्दै कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

गृह मन्त्रालयको सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले तीन दिनअघि मात्रै निर्णय गरेको थियो । त्यसपछि एआईजीको फुली लगाएर महानिरीक्षक धिरजप्रताप सिंहसहित भावी प्रहरी प्रमुखका पाँचै जना आकांक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।

त्यसक्रममा प्रचण्डले ‘मेरिट वेसिस’मा बढुवा गर्दा विवाद नआएको भन्दै खुशी व्यक्त गरेका थिए । त्यसबेलै प्रधानमन्त्रीले महानिरीक्षक बढुवामा पनि वरियतालाई ध्यान दिइने संकेत गरेका थिए । २०७३ सालमा दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला तेस्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षक बनाउनु सरकारका लागि प्रत्युत्पादक बनेको थियो ।

तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा चन्दलाई महानिरीक्षक बनाएलगत्तै प्रतिस्पर्धी नवराज सिलवालले सर्वोच्च अदालतमा त्यसविरुद्ध रिट निवेदन दिएका थिए ।

अदालतले केही घन्टामै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि चन्दले फुली समेत लगाउन पाएनन् । त्यसबेला अदालतले सरकारको निर्णय खारेज गर्दै कार्यसम्पादन, मूल्यांकन र वरिष्ठताका आधारमा आईजीपी बढुवा गर्न आदेश दिएको थियो ।

सरकारले पछि दोस्रो वरियताका प्रकाश अर्याललाई महानिरीक्षक बनायो । सिलवालले फेरि अदालतमा रिट निवेदन दिए । त्यसक्रममा सिलवालमाथि कार्यसम्पादन मूल्यांकनको कागजात कीर्ते गरेको अभियोग समेत लाग्यो । पछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सिलवाललाई चुनावमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार नै बनायो ।

यसपालि पहिलो वरियताका कुँवरलाई महानिरीक्षक बढुवा गरेर प्रधानमन्त्री प्रचण्डले नेतृत्व चयन विवादरहित होस् भन्ने चाहेको देखिएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

‘यसपालि वरियतामा अगाडि रहेका व्यक्तिभन्दा बाहिर जान सरकार त्यति धेरै चाहे जस्तो देखिन्न’, मल्लले अनलाइनखबरसँग भने, ‘हरेक पटक महानिरीक्षक नियुक्ति हुँदा विवाद हुने र मुद्दा मामिला हुने जुन प्रवृत्ति थियो, त्यसले निरन्तरता नपाओस् भन्ने नेतृत्वको चाहना देखियो ।’

सेनामा जान चाहन्थे, प्रहरी प्रमुख बने

अर्घाखाँचीमा १५ चैत २०२६ मा जन्मिएका नवनियुक्ति प्रहरी महानिरीक्षक कुँवर सानैदेखि फौजमा जान चाहन्थे ।

अर्घाखाँचीमा प्रवेशिका परीक्षा दिएर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएका उनले स्नातक तहको अध्ययन पूरा गर्दा माओवादी द्वन्द्व सुरु हुँदै थियो । उनले भर्खरै विवाह पनि गरिसकेका थिए ।

‘फौजमा सेवा गर्छु भन्ने थियो, सेकेण्ड लेफ्टिनेन्ट खुलेको थाहा पाएपछि आवेदन दिएको थिएँ’, महानिरीक्षक कुँवर सम्झन्छन्, ‘पहिलो प्रयासमै मेरो नाम त निस्कियो । तर, अन्तर्वार्तामा फालिएँ ।’

सेनामा त्यसबेला विवाहितलाई भर्ना लिइएको थिएन । तालिमका बेला विवाहित भएको थाहा भए निकाल्ने गरिएको थियो ।

‘त्यसबेला पारिवारिक पृष्ठभूमि सबै सोधीखोजी हुन्थ्यो, गोप्य रुपमा खोजी हुँदा म विवाहित भन्ने थाहा भइहालेछ’ उनले सुनाए, ‘त्यसपछि मलाई अरु एक/दुई जना तालिम लिंदा लिंदै फालिएको दृष्टान्त समेत दिंदै जोखिम नउठाउन भनियो ।’

यो २०५० सालको वैशाख, जेठतिरको कुरा थियो । मंसिरमा फेरि उनले प्रहरी निरीक्षकमा भर्ना खुलेको थाहा पाए । फौजमा भर्ना हुन नपाएका उनले प्रहरीमै भएपनि सेवा गर्ने सोच बनाए । पहिलो प्रयासमै नाम निकालेर उनले प्रहरी निरीक्षकका रुपमा नियुक्ति लिए । पछि उनले शंकरदेव कलेजबाट स्नातकोत्तर तहसम्म अध्ययन पनि पूरा गरे ।

प्रहरीमा भर्ना भएपछि उनले इलाका प्रहरी कार्यालय, तुलसीपुर, गौशाला लगायतका क्षेत्रमा काम गरे । नवलपरासी पश्चिमको सुस्तामा इलाका प्रहरी कार्यालय प्रमुख हुँदा उनले भारतीय ‘काउन्टर पार्ट’सँग समन्वय र सीमावर्ती इलाकालाई व्यवस्थित बनाउन भूमिका खेले ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा भएपछि उनले धादिङ र मनाङमा काम गरे । उनी पहिलो संविधानसभा चुनावका बेला मनाङमा र दोस्रोमा गोरखामा प्रहरी प्रमुख थिए । प्रहरी उपरीक्षक (एसपी) भएर चितवनमा काम गर्दा उनले नेपाल प्रहरी दिवसमा सर्वोत्कृष्ट प्रहरी अवार्ड प्राप्त गरे । वर्षभरि काम गरेका प्रहरी प्रमुखहरुको मूल्यांकनका आधारमा यो अवार्ड दिने गरिन्छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका उनले डीआईजी भएर मधेश प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरे ।

यो पनि पढ्नुहोस
प्रहरीको आन्तरिक शुद्धीकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर
ब्याचमेटलाई मिलाएर लैजाने चुनौती

नेपाल प्रहरीको प्रमुख हुनुअघि हुने ब्याचमेट बीचको प्रतिस्पर्धा कार्यकालभरि कायम रहँदा संगठनलाई असर पर्ने गरेको विगतले देखाउँछ ।

एउटै ब्याचमा भर्ना भएपनि महानिरीक्षक हुने रोलक्रममा पुगेपछि टाढिएका प्रतिस्पर्धीले एकअर्कालाई बाँकी कार्यकालभरि असहयोग गर्ने क्रम रहँदा संगठनलाई नै असर पुग्ने गरेको छ । त्यसैले महानिरीक्षक कुँवरको पहिलो चुनौती आफ्नै ब्याचका अधिकृतहरुलाई मिलाएर लैजानु हुने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

प्रहरीको सरुवा–बढुवामा राजनीतिक शक्ति केन्द्रको पनि चासो रहने गर्छ । बढुवामा अन्यायमा परेको गुनासो हरेक पटक आउने गरेको छ । तर, वरियताक्रममा आधारमा अगाडि आएका कुँवरले भावी दिनमा यसलाई कायम गर्न सक्छन् सक्दैनन् भन्ने विषयले उनको मूल्यांकन हुनेछ ।

शुक्रबारबाट अवकाशमा जाँदै गरेका महानिरीक्षक धिरजप्रताप सिंह वरियताका आधारमा भएको बढुवाले सम्पूर्ण प्रहरी अधिकृतहरुको मनोबल र उर्जा बढ्ने बताउँछन् ।

अहिले कतिपय घटनामा अनुसन्धान अधिकृतहरु नै कारबाहीमा पर्दा प्रहरी संगठनप्रति अधिकृतहरुको विश्वास गिर्दै गएको अवस्था छ । हरेक पटक सरुवा–बढुवाका लागि शक्ति केन्द्र आउने प्रवृत्ति छ ।

व्यावसायिक र इमानदार प्रहरीको करिअर नै जोखिममा छ । यस्तो अवस्थामा संगठनप्रति अधिकृतहरुलाई विश्वास दिलाउने वातावरण बनाउने प्रयास गर्नु पनि कुँवरको चुनौती हुनेछ ।

महानिरीक्षकमा नियुक्त कुँवरले अनलाइनखबरसँग कुरा गर्दै संगठनलाई विधि र पद्धतिका आधारमा हाँक्ने बताएका छन् ।

‘विगतमा प्रहरीका थुप्रै कार्ययोजनाहरु बनेका छन्, मैले त्यसलाई निरन्तरता दिने हो’ उनले अनलाइनखबरसँग भने, ‘त्यसबाहेक आन्तरिक रुपमा संगठन शुद्धीकरण गर्नमा मेरो जोड हुनेछ ।’ उनले प्रहरीको मनोबल र छवि बढाउने गरी काम गर्ने बताए ।

Related Articles

Leave a Comment